महेश सिंह,सिरहा लहान – हिंसा प्रभावित तथा दलित–सीमान्तकृत समुदायका महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले मुक्ति नेपालद्वारा सञ्चालित चप्पल बनाउने तालिम सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष देव कुमारी महराको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा गोलबजार नगरपालिकाका वडा नं. १ देखि १३ सम्मका हिंसा प्रभावित दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको सहभागिता रहेको थियो। तालिममार्फत सहभागी महिलाहरूलाई चप्पल उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको संस्थाले जनाएको छ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष महराले महिलाहरूले अरूमाथि निर्भर भएर जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै सीप र श्रममार्फत आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले मुक्ति नेपालले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्। उनले सीपले महिलाको आत्मविश्वास बढाउनुका साथै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्।
महराका अनुसार तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर सहभागी महिलाहरूले स्वरोजगार सिर्जना गर्न सक्नेछन्। यसले उनीहरूको आर्थिक अवस्था सुधार हुनुका साथै सामाजिक रूपमा पनि सशक्त बन्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै महिलाको क्षमता अभिवृद्धि र आर्थिक आत्मनिर्भरताका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने सहभागीहरूले बताएका छन्। मुक्ति नेपालले आगामी दिनमा पनि लक्षित समुदायका महिलाहरूको सशक्तीकरणका लागि यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।














