महेश सिंह लहान – भीआइपी र उच्चपदस्थ व्यक्तिहरूलाई बोलाएर भव्य समारोहका बीच रिबन काट्ने परम्परालाई तोड्दै सिरहाको लहानस्थित रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले एउटा नयाँ र अनुकरणीय अभ्यासको थालनी गरेको छ। अस्पतालले नयाँ व्यवस्थापनसहित पुनर्निर्माण गरिएको इमर्जेन्सी (आकस्मिक) कक्षको उद्घाटन कुनै नेता वा प्रशासकबाट नभई उपचारका लागि पुगेका सर्वसाधारण बिरामीको हातबाट गराएको छ।
विगतमा पूर्वाधार अभाव, फोहोरमैला र अव्यवस्थाका कारण आलोचना झेल्दै आएको यो अस्पतालको इमर्जेन्सी कक्ष अहिले पूर्ण रूपमा रूपान्तरण भएको छ। भौतिक पूर्वाधारको सुधार र आधुनिक व्यवस्थापनसँगै आकस्मिक सेवा लिन पुग्ने बिरामी तथा रातदिन खटिने स्वास्थ्यकर्मी दुवैले राहत महसुस गरेका छन्।
सास्तीपूर्ण विगतबाट सहजतातर्फ
यसअघि लहान अस्पतालको इमर्जेन्सी कक्ष बिरामीका लागि उपचार पाउने थलोभन्दा बढी सास्ती दिने ठाउँ बनेको थियो। साँघुरो ठाउँ, सिलिङ नहुँदा जस्तापाताबाट आउने उकुसमुकुस गर्मी, वर्षात्मा छानाबाट सोझै पानी चुहिने समस्या र फोहोर व्यवस्थापनको कमीले बिरामी र कुरुवा हैरान हुन्थे।
उपचारका लागि अस्पताल पुगेका कल्याणपुर नगरपालिकाका मनोजकुमार साहले विगतको कष्टकर अनुभव साटे, “पहिले यहाँ आउँदा अत्यधिक गर्मी, ठाउँको अभाव र दुर्गन्धले बिरामी झनै बिरामी पर्ने अवस्था हुन्थ्यो। तर अहिलेको सुधार र व्यवस्थापन देख्दा अचम्म लागेको छ, अब उपचार लिन धेरै सहज भएको छ।”
त्यस्तै लहानका अर्का सेवाग्राही मङ्गैन यादवका अनुसार पहिले वर्षात्का वेला जस्तापाताबाट पानी चुहिएर बेड नै भिज्ने र सेवा प्रवाहमा ढिलाइ हुने समस्या थियो, जुन अहिले समाधान भएको छ।
पूर्वाधार र प्रविधिमा फड्को
इमर्जेन्सी कक्षका इन्चार्ज दीपेन्द्रप्रसाद सिंहका अनुसार पहिले सिलिङ नभएका कारण गर्मी मौसममा जस्तापाता तातिएर कार्यकक्षमा बस्नै धौधौ हुन्थ्यो भने वर्षात्मा बिरामीको बेड बचाउनै मुश्किल पर्थ्यो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले बिरामीको बढ्दो चापलाई ध्यानमा राखेर पुरानै संरचनालाई आधुनिक र प्रविधिमैत्री रूपमा स्तरोन्नति गरिएको जानकारी दिइन्।
पुनर्निर्माणका क्रममा गरिएका प्रमुख सुधारहरू:
विद्युतीय सुदृढीकरण: चट्याङ तथा विद्युतीय शर्ट-सर्किटका जोखिम न्यूनीकरणका लागि विद्युतीय प्रणालीको नयाँ व्यवस्थापन।
छाना मर्मत: पुराना जस्तापाता फेरेर र सिलिङ हालेर पानी चुहिने र गर्मी हुने समस्याको स्थायी समाधान।
गोपनीयता र सुविधा: बिरामीको गोपनीयताका लागि स्क्रिनिङ, आकर्षक रङ्गरोगन र नयाँ फर्निचरको व्यवस्था।
विगतमा विविध विवाद र अस्तव्यस्तताका कारण चर्चामा आइरहने लहान प्रादेशिक अस्पतालमा पछिल्लो समय सुधारका प्रयासहरू देखिन थालेका छन्। इमर्जेन्सी कक्षको यो कायापलटले लहान र वरपरका सर्वसाधारणलाई सुरक्षित, सफा र मर्यादित वातावरणमा आकस्मिक स्वास्थ्य सेवा पाउने आशा जगाएको छ।















