महेश सिंह, लहान–सिरहा -सिरहाको बरियारपट्टी गाउँपालिका–३ शिवनगरस्थित रामटोल दलित बस्तीमा बालबालिका तथा महिलाको पोषण अवस्था पहिचानका लागि पोषण परीक्षण अभियान सञ्चालन गरिएको छ।
केयर नेपालको आर्थिक सहयोग, बरियारपट्टी गाउँपालिकाको समन्वय तथा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा सञ्चालित अभियानअन्तर्गत बालबालिका तथा गर्भवती महिला सुत्केरी महिलाको पोषण अवस्था परीक्षण गरिएको हो।

शुक्रबार समाचार त्यार गरे सम्मको अबधिमा ४० जना बालबालिकाको पोषण परीक्षण गरिएको अभियानका क्रममा पाँच महिनाकी अनिता राममा मध्यम शीघ्र कुपोषण (MAM ) देखिएको छ भने तीन वर्षीया सुधा रामको पोषण अवस्था सामान्य रहेको पाइएको छ।
अभियानमा स्वास्थ्य संस्थाकी सिनियर अनमी मधु गुप्ता, सहायक इन्चार्ज विष्णुदेव यादव, राष्ट्रिय कृषक समूह महासंघका स्वास्थ्य तथा सरसफाइ सहजकर्ता कतुरानन्द यादव र महिला स्वास्थ्य स्वयंसेविका पवित्रीदेवी ठाकुर सहभागी हुनुहुन्थ्यो।

पोषण परियोजनाकी अनुगमन अधिकृत आँचल खड्काले बालबालिका तथा महिलाको पोषण अवस्था पहिचान गरी आवश्यक परामर्श, उपचार तथा स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु अभियानको मुख्य उद्देश्य रहेको बताउनुभयो।
समयमै कुपोषण पहिचान गर्न सके त्यसबाट उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो। अभियानमार्फत समुदायस्तरमै पोषण अवस्थाको परीक्षण गरी जोखिममा रहेका बालबालिकालाई आवश्यक सेवासँग जोड्ने काम भइरहेको उहाँको भनाइ छ।















