महेश सिंह, लहान सिरहा –सिरहाका नरहा गाउँपालिका र धनगढीमाई नगरपालिकामा बालबालिका तथा गर्भवती र सुत्केरी महिलाको पोषण अवस्था पहिचान गर्न पोषण लेखाजोखा अभियान सञ्चालन गरिएको छ।
नरहा गाउँपालिकाको समन्वय तथा केयर नेपालको आर्थिक सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालले नरहा–३ बरगाछी टोलमा पोषण लेखाजोखा तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला तथा छ महिनासम्मका सुत्केरी महिलाको पोषण अवस्थाको जाँच गरी आवश्यक परामर्श प्रदान गरिएको जनाइएको छ।
कार्यक्रममा ५९ जना बालबालिकाको पोषण लेखाजोखा गरिएकोमा ११ जना मध्यम शीघ्र कुपोषण (एमएएम) को अवस्थामा रहेको पाइएको आयोजकले जनाएको छ। स्वास्थ्यकर्मी तथा स्वयंसेविकामार्फत बालबालिकाको पोषण अवस्था परीक्षण गरी कुपोषण देखिएका बालबालिकालाई आवश्यक परामर्श तथा उपचारका लागि सहजीकरण गर्ने गरिएको छ।
पोषण परियोजनाका अनुगमन अधिकृत आँचल खड्काले अभियानअन्तर्गत बालबालिका तथा महिलाको पोषण अवस्था पहिचान गरी समयमै आवश्यक परामर्श र उपचारको पहुँचमा ल्याउने उद्देश्य रहेको बताउनुभयो। अभियानको राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रदेश सचिव यामुनप्रसाद यादवले समेत अनुगमन गर्नुभएको थियो।
महासंघले सरकारसँगको समन्वयमा केयर नेपालको आर्थिक सहयोगमा सिरहाका छ स्थानीय तहमा पोषण लेखाजोखा अभियान सञ्चालन गरिरहेको जनाएको छ। विशेषगरी गरिब, दलित, सीमान्तकृत तथा आर्थिक रूपमा विपन्न समुदायका बालबालिका र परिवारलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो।
आर्थिक अभावका कारण पोषिलो खाना, स्वास्थ्य सेवा तथा उपचारबाट वञ्चित हुन सक्ने बालबालिकाको पहिचान गरी पोषणसम्बन्धी परामर्श, आवश्यक सहयोग तथा स्वास्थ्य सेवासँग जोड्ने काम अभियानमार्फत भइरहेको आयोजकले जनाएको छ।
धनगढीमाई नगरपालिका–९ स्थित ग्रीनल्यान्ड बोर्डिङ स्कुल र इन्द्रेणी पाठशालामा अध्ययनरत बालबालिकाको समेत पोषण लेखाजोखा गरिएको छ। छ महिनादेखि पाँच वर्षमुनिका ५० जना बालबालिकाको परीक्षण गर्दा पाँच जना मध्यम शीघ्र कुपोषण (एमएएम) मा रहेको पाइएको जनाइएको छ।
स्वास्थ्यकर्मी लखन महतोका अनुसार सामान्य कुपोषण, मध्यम शीघ्र कुपोषण र कडा शीघ्र कुपोषण भएका बालबालिकाको पहिचान गरी उनीहरूलाई पोषिलो खाना, आवश्यक औषधि तथा स्वास्थ्यसम्बन्धी परामर्श उपलब्ध गराउने गरिएको छ। समयमै कुपोषण पहिचान गरी उपचार तथा पोषणमा सुधार ल्याउन सके बालबालिकाको स्वास्थ्य अवस्था सुधार गर्न सकिने उहाँले बताउनुभयो।
इन्द्रेणी पाठशालाका प्रधानाध्यापक मुक्ति लाल सहनीले बालबालिकाको पोषण अवस्था पहिचान गर्ने कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो। यस्ता कार्यक्रमले बालबालिकालाई कुपोषणका कारण हुने स्वास्थ्य समस्या तथा अपाङ्गताको जोखिमबाट जोगाउन सहयोग पुग्ने उहाँको भनाइ छ।
ग्रीनल्यान्ड स्कुलका संस्थापक तथा प्रधानाध्यापक विदुर राउतले पोषण र स्वास्थ्य बालबालिकाको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस्ता अभियान प्रभावकारी हुने बताउनुभयो।
नरहा–३ की छ महिनाकी गर्भवती रबिता महराको पोषण परीक्षणका क्रममा कुपोषणको अवस्था पहिचान भएको थियो। उहाँले आर्थिक रूपमा विपन्न परिवारको घरमै पुगेर निःशुल्क रूपमा स्वास्थ्य तथा पोषणसम्बन्धी सल्लाह र सुझाव दिने अभियानले ठूलो सहयोग पुगेको बताउनुभयो।
उहाँले भन्नुभयो, “गरिब तथा दलित परिवारका लागि घरमै आएर निःशुल्क सल्लाह, सुझाव र आवश्यक सहयोग गर्नु ठूलो सहारा बनेको छ।”
आयोजकका अनुसार असोज १३ गतेदेखि नौ दिनसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न बस्ती,विद्यालय तथा समुदायमा पुगेर बालबालिका र महिलाको पोषण अवस्थाको लेखाजोखा गरिनेछ। अभियानमा स्वयंसेविका सिमा साह, बिमला कुमारी महतो, प्रदीप यादव लगायत स्थानीय स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको छ।















