राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–८ मा छिमेकीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका–८ का १९ वर्षीय हिमेश पासवान र सोही ठाउँका १९ वर्षीय श्रीचन्द्र मण्डल रहेका छन्। उनीहरूमाथि छिमेकी १८ वर्षीय राहुल सरबरिया, १९ वर्षीय श्रवण सदा र १८ वर्षीय राजु सदालाई कुटपिट गरी घाइते बनाएको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत कात्तिक ४ गते कञ्चनरुप नगरपालिका–८ स्थित विद्युत् कार्यालयअगाडि झैझगडा तथा कुटपिट भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
कुटपिटबाट घाइते तीनै जनाको उपचार भइरहेको र उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जीको समर्थन लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।















