महेश सिंह
लहान – सिरहाको नवराजपुर गाउँपालिका–४, नहरनियाँमा जग्गा विवादका कारण एक विपन्न परिवारले मानसिक यातना भोग्नुपरेको र आफ्नै जग्गामा घर निर्माण गर्न नपाएको आरोप लागेको छ।
स्थानीय धनाई यादवले आफ्नो जग्गामा घर निर्माण गर्न खोज्दा स्थानीय सोमनाथ यादव पक्षका व्यक्तिहरूले पटकपटक अवरोध गर्ने गरेको आरोप लगाएका छन्। विवादित जग्गामा घर निर्माण गर्न नदिइँदा आफूहरू अन्यायमा परेको र उठीबासको जोखिममा रहेको पीडित पक्षको भनाइ छ।
स्थानीयका अनुसार करिब एक कठ्ठा तीन धुर जग्गालाई लिएर लामो समयदेखि विवाद हुँदै आएको छ। घरमा कोही नभएको अवस्थामा २०७२ सालमा सोमनाथ यादवले उक्त जग्गा आफ्नो नाममा नापी गराएको पीडित पक्षको आरोप छ। सोही नापीसम्बन्धी कागजातका आधारमा पटकपटक मुद्दा मामिला गर्ने गरिएको उनीहरूको भनाइ छ।
पीडित पक्षका अनुसार उक्त जग्गासम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सोमनाथ यादव पक्ष पराजित भएको र उच्च अदालतबाट समेत दुईवटा मुद्दामा हार बेहोर्नुपरेको दाबी गरिएको छ। यद्यपि, ती मुद्दाको फैसला, जग्गाधनीसम्बन्धी आधिकारिक अभिलेख र दुवै पक्षको भनाइ स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
स्थानीयले सोमनाथ यादव पक्षका समर्थक भनिएका कपले, दुखियाँ, रामउदगार, कासिन्द्र, बिलेक्षणलगायतका व्यक्तिहरूले समेत पीडित परिवारलाई दुःख दिने गरेको आरोप लगाएका छन्। तर, आरोपित व्यक्तिहरूको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।
यसैबीच, विवादित जग्गामा घर निर्माणको विषयलाई लिएर तनाव उत्पन्न भएपछि झाझपट्टीस्थित सीमा प्रहरी चौकीबाट खटिएको प्रहरीले तत्कालका लागि काम यथास्थितिमा राख्न भनेको बताइएको छ।
आफ्नै जग्गामा घर बनाउन नपाएको भन्दै पीडित परिवारले न्याय र सुरक्षाको माग गरेको छ। जग्गासम्बन्धी विवादमा अदालतका फैसला तथा आधिकारिक अभिलेखको कार्यान्वयन, दुवै पक्षका दाबीको निष्पक्ष जाँच र पीडित परिवारको सुरक्षाका विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ।















