सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–६, बगदहमा घाँटी काटिएको अवस्थामा एक १३ वर्षीया बालिकाको शव फेला परेको छ। दशैँका दिन बुधबार स्थानीय लालबाबु राउतकी छोरी मौसम कुमारी राउत आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक किशोर केसीका अनुसार बालिका बुधबार बिहान करिब १० बजे उखुको पात काट्न घरबाट निस्किएकी थिइन्।
साँझ स्थानीयले बालिकालाई मृत अवस्थामा देखेपछि करिब ४ः३० बजे प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। प्रहरी निरीक्षक केसीका अनुसार बालिकाको घाँटीमा धारिलो हतियारले काटेको देखिएको छ।
गोडैता नगरपालिका–६ का वडाध्यक्ष सचिन्द्र महतोका अनुसार बालिका बिहान उखुको पात काट्न खेतमा गएकी थिइन्। उनी आफ्नै उखुबारीमा मृत अवस्थामा फेला परेकी हुन्। बालिकाले उखुबारीमा केही उखुका पातसमेत काटेकी थिइन्।
घटनापछि बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।
घटनाको कारण र संलग्न व्यक्तिबारे खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताएका छन्।















