प्रदिप सिंह
लहान ६ कार्तिक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१० स्थित जिरोमाइल चोकमा बसको ठक्करबाट एक पैदलयात्री गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा धनगढीमाई नगरपालिका–१० निवासी चित्रबहादुर बलम्पाकी मगरका करिब ३५ वर्षीय छोरा विवेक बलम्पाकी मगर रहेका छन्।
विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ५२८५ नम्बरको बसले ठक्कर दिँदा मगर गम्भीर घाइते भएका हुन्। घाइते मगरको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए।
प्रहरीले बस र चालक कृष्णबहादुर राणालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ।















