लहान । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेको विद्यालयकै एक शिक्षक साढे तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। सिरहाको धनगढीमाई नगरपालिका–१० जिरोमाइलस्थित विश्वशान्ति एकेडेमीमा कार्यरत करिब २५ वर्षीय शिक्षक सौगात लुइँटेललाई प्रहरीले जबर्जस्ती करणीसम्बन्धी कसुरमा पक्राउ गरेको हो।
पीडित परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार आरोपीले गत कात्तिक ८ देखि १२ गतेसम्म विद्यालयको टिफिन समयमा बालिकालाई कार्यालयमा लगेर चकलेट दिँदै पटकपटक यौन दुर्व्यवहार गरेका थिए।
परिवारका अनुसार बालिकाले सुरुमा आफूले भोगेको घटनाबारे बताउन सकेकी थिइनन्। पिसाब गर्न गाह्रो हुने र संवेदनशील अंगमा घाउ देखिने समस्या देखिएपछि परिवारले सुरुमा छालासम्बन्धी समस्या हुन सक्ने ठानेको थियो।
केही दिन विद्यालय नपठाउँदा समस्या कम हुने तर पुनः विद्यालय पठाउँदा दोहोरिने गरेको आफन्तको भनाइ छ। गत कात्तिक १७ गते बालिकालाई अस्पताल पु¥याएर स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्यकर्मीले यौन हिंसाको आशंका व्यक्त गरेपछि परिवारले बालिकासँग सोधपुछ गरेको थियो।















