काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह दर्ता गरी योजनाबद्ध रूपमा सवारी दुर्घटना गराएर हत्या गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ ।
ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या गरेको र हत्यापछि बिमा रकम असुल गरिएको आरोपमा ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षीय सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता सापकोटा रहेका छन् ।
उनीहरुले २०७८ साल बैशाख २ गते बाँकेको कोहलपुर नगरपालिकामा २१ वर्षीय सर्जन विकको योजनाबद्ध दुर्घटना गराई साढे २ करोड बराबरको बिमा रकम लिएको अनुसन्धानबाट खुलेको ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले जानकारी दिए । उनीहरुले सवारी दुर्घटना गराएर बिमा रकम दावी गर्ने उद्देश्यले सपना मल्लसँग सर्जनको विवाह दर्ता गराएका थिए ।
विवाहअघि नै उनीहरुले सर्जनको सावधिक जीवन बिमा र म्यादी जीवन बीमा गराएका थिए । दुर्घटनामा सर्जनको मृत्यु भएपछि २०७८ साउन १४ गते रिलायन्स लाइफ इन्स्युरेन्सबाट उनकी श्रीमती सपना मल्लले बीमा रकम भुक्तानी लिई कोहलपुरस्थित कामना सेवा विकास बैंकको खातामा जम्मा गरेको देखिएको छ ।
त्यस्तै, २०७८ फागुन ३० गते नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले सीआईबीलाई सर्जन विकको सवारी दुर्घटना शंकास्पद देखिएको भन्दै अनुसन्धान गर्न पत्र लेखेको र त्यसपछि व्युरोले अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिए ।
दुर्घटना हुनुभन्दा दुई महिना अघि मात्रै मृतकको नाममा बैंक खाता खोलिनु, विवाहअघि नै सपनालाई इच्छाएको व्यक्ति भनेर राखिनु, मृतकको त्यति ठूलो बीमा गर्ने आर्थिक हैसियत नहुनु र दुर्घटनामा सर्जनको मृत्यु भएपछि सपना मृत्यु संस्कारमा सहभागी नहुनु लगायत शंकाका आधारहरु देखिएको ब्युरोका प्रहरी अतिरिक्त महानिरीक्षक सुवेदीले बताए ।
गिरोहका सदस्यले नै ठूलो रकमको विवाह गराई हत्या गरी मृत्युपछि बिमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड समेत गरेको पाइएको प्रहरीले जनाएको छ ।















