महोत्तरी । बर्दिवास–४ स्थित सशस्त्र प्रहरी छिन्नामस्ता बाहिनी परिसरमा मंगलबार बिहान गाउँलेमाथि आक्रमण गर्ने स्याल मारिएको छ ।
बाहिनी परिसरमा प्रवेश गरी दुई प्रहरी जवानलाई आक्रमण प्रयास गरेपछि उक्त स्याललाई मारिएको सशस्त्र प्रहरीको बाहिनीले जनाएको छ । मंगलबार बिहान ५ बजे प्रहरी जवान इन्द्रलाल चौधरी र सुमन राउतलाई आक्रमण गर्ने क्रममा दुवै जवानले बेतको लाठीले प्रहार गरी उक्त स्याल मारेको सशस्त्र प्रहरीका बाहिनीपति गणेश ठाडा मगरले जानकारी दिए ।
उक्त स्यालले बर्दिवास–४ स्थित माईस्थान गाउँमा प्रवेश गरी एक हप्तामा ५ जनालाई आक्रमण गरी सख्त घाइते बनाएको र सबै घाइतेको काठमाडौंमा उपचार भइरहेको बाहिनीपति ठाडा मगरले बताए ।
स्यालको आक्रमणबाट बर्दिवास–४ की विभा आले मगर, तुला माया राना र तेजबहादुर राना सख्त घाइते भएका छन् । उनीहरुको बर्दिवासमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको ठाडा मगरले जानकारी दिए ।
सशस्त्र बाहिनीकै निरज गोले र पप्पु नुनिया पनि स्यालको आक्रमणपछि उपचारमै रहेको सशस्त्र प्रहरीको बाहिनीले जनाएको छ । उक्त स्यालको आक्रमणबाट जोगिन र सर्वसाधरणलाई जोगाउन जवानहरुले स्याललाई लाठी प्रहार गरेको ठाडा मगरले बताए ।
मारिएको स्याललाई जिल्ला डिभिजन वन कार्यालय महोत्तरीलाई बुझाउन लागिएको डिआईजी ठाडा मगरले जानकारी दिए ।















