काठमाडौं । तिहारको तेस्रो दिन आज साँझ धन-सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ। मान्यता अनुसार सफा र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीको बास हुन्छ, त्यसैले आज बिहानै घर सफा गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ।
लक्ष्मीपूजाका लागि घरका झ्याल, ढोका, अटाली र कौसीलगायत स्थानमा दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ। कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि मानिन्छ।
आज साँझ आँगनदेखि मूलढोकासम्म गोबर र रातोमाटोले बाटो बनाएर लक्ष्मी आउने मार्ग देखाइन्छ, र पाइलैपिच्छे दीप प्रज्ज्वलन गरिन्छ। पूजा कोठामा दीयो, कलश र लक्ष्मी-कुबेरको स्थापना गरी विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ।
पूजापछि कन्या केटी र छोरी चेलीलाई दक्षिणा दिने चलन छ। लक्ष्मीपूजापछि धन-सामान बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने विश्वास छ।
साँझमा युवा युवतीले घरघरमा भैलो खेल्ने र दान दिनेको पुण्य बढ्ने धार्मिक मान्यता छ।















