अछाम। अछामको रिडिकोटमा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। लु १ ज ४७११ नम्बरको जीपको ब्रेक फेल भएपछि बाजुराका यात्रु सवार जीप नालीमा पल्टिएको हो।
दुर्घटनामा बाजुराको त्रिवेणी नगरपालिका–६ की १९ वर्षीया नन्दा बुढा, बुढीगङ्गा नगरपालिका–४ का २७ वर्षीय राजेन्द्र लुहार, उहाँका छ वर्षीय छोरा सक्षम लुहार, र खप्तड छेडेदह गाउँपालिका–३ का २३ वर्षीय गाडी चालक रोहित रावत घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार नन्दा बुढाको टाउको र मुखमा गम्भीर चोट लागेको छ भने अन्य सबै घाइतेहरूको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई अछामको न्याय हेल्थ बयलपाटामा उपचारका लागि लगिएको छ।
दुर्घटना पछि गाडी चालक प्रहरीको नियन्त्रणमा छन्।















