महेश सिंह लहान सिरहा –रसुवामा आएको बाढीपहिरोबाट प्रभावित परिवारका लागि ले सञ्चालन गरेको राहत सङ्कलन अभियान उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ।
अभियानको दोस्रो दिन पनि लहानवासी दाजुभाइ तथा दिदीबहिनीहरूले राहत सामग्री तथा आवश्यक सहयोग उपलब्ध गराउँदै मानवीय एकताको उदाहरण प्रस्तुत गरेका छन्। स्थानीयवासीको उल्लेखनीय सहभागिताबाट सङ्कलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी पूरा गरिएको जेसीजले जनाएको छ।
लहान सिटी जेसीजका अध्यक्ष बमचन्द्र चौधरीका अनुसार सङ्कलित राहत सामग्री भोलि रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा पठाइनेछ। विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्न संस्था सदैव अग्रसर रहने उनले बताए।
बाढीपहिरोबाट प्रभावित नागरिकको पीडामा साथ दिन लहानवासीले देखाएको सहयोग र सद्भावप्रति जेसीजले आभार व्यक्त गरेको छ। विपद्का बेला युवाहरूको संगठनका रूपमा लहान सिटी जेसीजले राहत तथा मानवीय सहयोगका अभियानलाई निरन्तरता दिने जनाएको छ।
“लहानको साथ, विपत्तिमा आशाको हात” भन्ने भावनासहित सञ्चालन गरिएको अभियानले विपत्तिको समयमा समुदायबीचको एकता, सहकार्य र मानवीय भावना अझ बलियो बनाएको आयोजकको भनाइ छ।















