महेश सिंह लहान सिरहा – लहान नगरपालिका–३ स्थित लक्ष्मण–ललिता कुशवाहा माध्यमिक विद्यालयका छात्रछात्राहरूले रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ हजार रुपैयाँ सहयोग गरेका छन्।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले बाढीपहिरो पीडितको राहतका लागि रकम संकलन गरी प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा जम्मा गरेका हुन्। विपत्तिको समयमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो तर्फबाट रकम जुटाएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रमुख लेखा श्यामसुन्दर महतोका अनुसार रसुवा–भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकका लागि विद्यार्थीहरूबाट संकलित ४५ हजार रुपैयाँ सम्बन्धित कोषमा जम्मा गरिएको हो।
प्राकृतिक विपत्तिका बेला विद्यार्थीहरूमा समेत मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सहयोगको भावना विकास गर्ने उद्देश्यले गरिएको यो पहलले समाजमा सकारात्मक सन्देश दिएको विद्यालयको भनाइ छ।















