लहान ९ कार्तिक ।गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार अनवरलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो।
गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थाका केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले अनवरविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।
प्रहरीका अनुसार अनवर कहिले ससुरालीतर्फ त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। घर आए पनि प्रहरीबाट बच्दै लुक्ने गरेको सूचनाका आधारमा उनलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा ६५ अनुसार धर्म, जात, जाति, सम्प्रदाय वा भाषाका आधारमा विभिन्न समुदायबीचको सुसम्बन्धमा खलल पार्ने कसुर प्रमाणित भएमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।















