बुटवल, २८ असार जगत ठाडा मगर । वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा रहेकी श्रीमतीको फोटो अश्लील क्याप्सनसहित फेसबुकमा राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले नक्कली फेसबुक खाता खोली ओमानमा रहेकी श्रीमतीको अश्लील क्याप्सनसहित तस्बिर राखेको आरोपमा रुपन्देहीको सैनामैना नगरपालिका – ४ मुर्गियाका ३६ वर्षीय जीवन दमाईलाई पक्राउ गरेको हो ।
उनले श्रीमतीसँग मनमुटाब भएपछि श्रीमतीको तस्बिर राखेर अश्लील सन्देश लेखेको प्रारम्भिक बयानमा खुलेको छ । युवतीले प्रहरीको साइबर ब्युरोमा उजुरी गरेपछि अनुसन्धानको क्रममा श्रीमतीको चरित्र हत्या गर्न श्रीमान् नै संलग्न रहेको खुलेको थियो ।
उनलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा पक्राउ गरी अदालतबाट असार २४ गते चार दिनको म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।















