सप्तरी १० असोज ।लगातारको वर्षापछि कोसी नदीमा पानीको बहाव बढ्दै जाँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ का बस्तीमा कोसीको पानी पस्न थालेको छ। पानी घरभित्र पसेपछि दुई वडाका १७ घरपरिवार प्रभावित भएका छन्।
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार प्रभावित परिवारमा चार जना सुत्केरी महिला समेत छन्। घरभित्र पानी पसेपछि सुत्केरीसहित प्रभावित परिवारलाई सुरक्षित स्थानका रूपमा अग्लो कोसी बाँधमा सारिएको छ।
वडा नं. ४ को टिकुलिया खंग टोलमा बौवालाल खंग, हरिलाल खंग, बद्री खंग, रजिया देवी खंग, सुकराती खंग, चनाइ खंग, लक्ष्मण खंग, राजकुमार खंग, धर्मी खंग, जलेश्वर मुखिया र अखलेश मुखियाको घरमा पानी पसेको गाउँपालिकाले जनाएको छ।
यस्तै, वडा नं. ५ मा भरत मण्डल, महेश साह, सियाराम मुखिया, गंगाराम मुखिया, मन्टुन मुखिया र बेचु मुखियाको घर प्रभावित भएका छन्।
कोसीको पानी तिलाठी कोइलाडी–४ स्थित सशस्त्र प्रहरीको टिकुलिया बेस क्याम्पमा समेत पसेको छ। बेस क्याम्पमा पानी पसेपछि सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेश बाहिनी मुख्यालय बर्दिबासका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले स्थलगत निरीक्षण गर्नुभएको छ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार कोसीमा पानीको बहाव उच्च भएपछि नदी आसपासका क्षेत्रमा पानीको सतह बढेको हो। अहिले भने पानीको सतह विस्तारै घट्ने क्रममा रहेको उहाँले बताउनुभयो।













