काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनको खबरले आफू निकै स्तब्ध भएको बताएका छन् । नेपालले एक सच्चा र असल नेता गुमाएको उनले उल्लेख गरेका छन् ।
शनिबार राति ट्विटमार्फत उनले गिरिको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
“नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु,” देउवाको ट्विटमा लेखिएको छ ।
कांग्रेस संसदीय दलको कार्यालयका अनुसार प्रतिनिधिसभाका सांसद गिरिको शनिबार राति साढे ९ बजे निधन भएको हो । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७५ वर्षका गिरि घाँटीको क्यान्सरबाट पीडित थिए ।
उनको निधनसँगै विभिन्न नेता, शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।















