लहान २३ मा ढेड दर्जन बालबालिका अचेत, चापाकलमा विषको आशंका ।
दिनेश्वर गुप्ता
लहान । सिरहाको लहान २३ गाढा स्थित रहेको एक बोर्डिग स्कूलका १८ बालबालिका आज अचेत भएका छन् । सिरहा मोर्रिँग स्टार इँलिस बोर्डिग स्कूलको कम्पाउन्डमा रहेको पानी खाने चापाकलमा विष हालेको पानी पिउदा १८ बालबालिका अचेत भएको छ ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी कुमार मैनालीका अनुसार स्कूलको कम्पाउन्डमा बुलेट ५०५ नामक विषादीको डिब्बा फेला परेको छ । कलमा त्यही विषादी हालेको आशंका गरिएको छ । अचेत बालबालिकालाई लहान अस्पतालमा उपचारमा राखिएको छ भने अवस्था समान्य रहेको बताए ।
स्कूल संचालक सुदीप रामका अनुसार साढे १० बजेतीर त्यस चापाकलको पानी खाएका केही बालबालिका एक्कासी पेट दुखियो भनेर कराउँन थाले । अनि प्रहरीलाई सम्पर्क गरे । त्यही चापाकलको छेउमा विषादीको खाली डिब्बा फेला परेको हो ।















