भारत ।भारतले क्यानडासँगको कूटनीतिक विवाद चर्किँदै जाँदा क्यानडामा रहेका आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। भारतीय सञ्चार माध्यमका अनुसार, भारतले क्यानडास्थित आफ्नो उच्चायोगबाट ६ जना कूटनीतिज्ञलाई पनि फिर्ता बोलाउन निर्देशन दिएको छ।
यो निर्णय सिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई लिएर दुई देशबीच बढ्दै गएको तनावको परिणाम हो। क्यानडाली प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्या भारतका जासुसहरूले गराएको हुनसक्ने आरोप लगाएपछि भारतले यस विषयमा कडा प्रतिक्रिया दिएको थियो। भारतले यी आरोपहरूलाई अस्वीकार गर्दै आफ्नो कूटनीतिक कदम चालेको हो।
यसैबीच, भारतले ६ जना क्यानडाका कूटनीतिज्ञलाई पनि निष्कासन गरेको छ। भारतीय विदेश मन्त्रालयले उनीहरूलाई अक्टोबर १९ तारिखको राति १२ बजेभित्र भारत छोड्न आदेश दिएको छ।
सिख नेता हरदीप सिंह निज्जरको हत्या गत वर्ष क्यानडामा गोली हानी भएको थियो। निज्जरलाई भारतले आतङ्कवादीको रूपमा पहिचान गरेको भए पनि उनका समर्थकहरूले यो आरोपलाई अस्वीकार गर्दै आएका छन्। क्यानडा सरकारले भने निज्जरको हत्यामा भारतीय जासुसहरूको संलग्नताको छानबिन गरिरहेको बताएको छ।















