काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज बिहीबार कुकुर तिहार मनाइँदैछ। घरघरमा सुरक्षा र निष्ठाका प्रतीक कुकुरलाई फूलमाला लगाई पूजा गरी मीठा खानेकुरा खान दिइँदैछ। यमपञ्चक पर्वको दोस्रो दिन पर्ने कुकुर तिहार यस वर्ष तिथिको घटबढले तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कात्तिक कृष्ण चतुर्दशीमा कुकुरलाई विशेष सम्मानका साथ पूजा गर्ने परम्परा छ। यस दिन कुकुरलाई यमलोकको द्वारपाल श्याम र सबलको प्रतीक मानी सम्मान गरिन्छ। धार्मिक मान्यता अनुसार, यमलोक यात्राका बेला यी द्वारपालहरूले बाटो खुला गरिदिन्छन्। वैदिक ग्रन्थमा धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको उल्लेख छ।
यसै अवसरमा आज नरक चतुर्दशीको विधिपूर्वक पालन गर्दै नदी, तलाउ वा तीर्थमा स्नान गरी यमदीप बगाइन्छ, जसले मृत्युपछि नरकको दर्शन हुन नदिने विश्वास छ। यमपञ्चकका पाँच दिन तिलको तेल लगाएर स्नान गर्नु स्वास्थ्यका दृष्टिले लाभदायक मानिन्छ, आयुर्वेदिक चिकित्सकहरूका अनुसार तिहार स्वास्थ्य सुरक्षासँग जोडिएको पर्व पनि हो।















