लहान। सिरहाको धनगढीमाई नगरपालिका–४, जयपुरमा छठ पर्वको समापनका अवसरमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै भक्तजनहरूले आस्थाको पर्व उल्लासपूर्वक मनाए। जयपुरको प्रसिद्ध पोखरीमा व्रतालुहरूले परम्परागत विधिबाट सूर्यदेवको पूजा आराधना गरेका थिए। बिहानै जलाशयमा स्नान गरी श्रद्धालुहरूले सूर्यलाई जल चढाउँदा पोखरीमा दीप, भजन र धार्मिक गीतले पवित्र वातावरण सिर्जना गरेको थियो।
छठ पर्वका अवसरमा चार दिनसम्म व्रत बसेका श्रद्धालुहरूले नहाय–खायदेखि खरना, सन्ध्या अर्घ्य र अन्तमा उदाउँदो सूर्यलाई अर्घ्य दिने विधि पूरा गरे। ठकुवा, कसार, र फलफूल सहितको प्रसाद सामग्री अर्पण गरिएका पोखरी वरपर माटोका दीप बालेर स्थानीयहरूले पर्वलाई थप आकर्षक बनाएका थिए। छठ पर्वले मिथिला क्षेत्रको सांस्कृतिक पक्षलाई उजागर गर्दै समाजमा आपसी भाइचारा र एकताको सन्देश पनि दिएको छ।















