सिरहा : नेपाली यू-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले आईसीसी यू-१९ महिला विश्वकप क्रिकेटमा टोलीलाई पहिलो पटक छनोट गराउन सफल भएपछि मिर्चैया नगरपालिकाले उनलाई विशेष सम्मान गरेको छ।
गएको साता महतोको कप्तानीमा नेपाली टोलीले ऐतिहासिक सफलता हात पारेकोमा बिहीबार मिर्चैया नगरपालिकाले नगद ३५ हजार रुपैयाँ, प्रशंसा पत्र र दोसल्ला सहित सम्मान गरेको हो। सम्मान कार्यक्रममा नगर प्रमुख श्रवण कुमार यादवले महतोको उपलब्धि नेपालका लागि प्रेरणादायक भएको भन्दै भविष्यमा पनि साथ र सहयोग जारी रहने बताए।
महतोले समारोहमा आफ्नो भावनाहरू व्यक्त गर्दै भनिन्, “देशको शिर उच्च पार्न मैले क्रिकेटलाई आफ्नो जीवन समर्पित गरेको छु। यो सम्मानले मलाई अझ धेरै योगदान दिन प्रेरित गरेको छ।”
मिर्चैया नगरपालिकाले महतोको यस योगदानलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्ने प्रतिबद्धता पनि जनाएको छ।















