बुटवल उपमहानगरपालिका–११, होराइजन चोकस्थित मिलिजुली पथमा एकै परिवारका तीन सदस्यको विभत्स हत्या भएको छ। बुधबार बिहान करिब ४ बजे भएको घटनामा ३३ वर्षीया दीपा बस्याल र उनकी दुई छोरी—७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको निर्मम हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
घटनापछि प्रहरीले दीपाका पूर्वपति सुरज कोइरालालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी दीपासँग केही समयअघि मात्र कानुनी रुपमा सम्बन्धविच्छेद गरेका थिए र हाल छुट्टै बसिरहेका थिए।
स्थानीयका अनुसार कोइराला केही वर्षअघि संविधान दिवसको अवसरमा आममाफी पाएर जेलमुक्त भएका थिए। अहिले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
निर्दोष बालबालिकासहित तीन ज्यान जाने गरी भएको यस घटनाले पुरै क्षेत्र स्तब्ध बनेको छ।















