महेश सिंह लहान सिरहा – गर्मी र वर्षायामसँगै लामखुट्टेको प्रकोप बढिरहेका बेला सिरहाको नवराजपुर गाउँपालिकामा समाजसेवी जयकिशोर यादवले बस्ती–बस्तीमा पुगेर झुल (मच्छरजाली) वितरण अभियानलाई तीव्रता दिएका छन्।
नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित दास टोल र रामटोलका घरपरिवारलाई यादवले आइतबार झुल वितरण गरेका हुन्। लामखुट्टेको टोकाइबाट हुने सम्भावित स्वास्थ्य जोखिमबाट स्थानीयलाई जोगाउन सहयोग पु¥याउने उद्देश्यले घरमै पुगेर झुल वितरण गरिएको यादवले बताए।
यसअघि पनि यादवले गाउँपालिकाका विभिन्न वडाका बस्तीमा पुगेर निरन्तर झुल वितरण गर्दै आएका छन्। आइतबार मात्रै झाझपट्टीका ८० घरपरिवारलाई झुल उपलब्ध गराइएको उनले जानकारी दिए।
यादवका अनुसार हालसम्म नवराजपुर गाउँपालिकाभरि १५ सयभन्दा बढी घरपरिवारलाई झुल वितरण गरिसकिएको छ। विपन्न तथा ग्रामीण बस्तीका नागरिकलाई लक्षित गरी अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ।
वर्षायाममा लामखुट्टेको संख्या बढ्ने र त्यसबाट बालबालिका तथा ज्येष्ठ नागरिक बढी प्रभावित हुन सक्ने भएकाले सामान्य देखिने झुलसमेत विपन्न परिवारका लागि महत्वपूर्ण सुरक्षा सामग्री बन्ने गरेको स्थानीय बताउँछन्।
‘सहयोग ठूलो हुनुपर्छ भन्ने छैन, आवश्यक परेको ठाउँमा सही समयमा पुग्न सक्नु महत्वपूर्ण हो’ भन्ने उद्देश्यका साथ बस्ती–बस्तीमा पुगेर झुल वितरण गरिरहेको यादवले बताए।















