सिरहा । जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन्। लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका दास अदालतबाट म्याद थप गरी फर्काउने क्रममा फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका दासलाई असोज २२ गते जिल्ला अदालत सिरहाबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा हतकडी फुत्काएर फरार भएका थिए।
फरार दासको खोजी गर्ने क्रममा गएराति ११ बजेर ३५ मिनेटमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले नेपाल–भारत दशगजा क्षेत्रअन्तर्गत सिरहा नगरपालिका–१४ खिरौनाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले जानकारी दिए।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















