सिरहा १७ असोज । जितिया पर्वको अवसरमा जितिया पावैन बोलको नयाँ जितिया गीतको अडियो तथा भिडियो सार्वजनिक गरेको छ ।
लोपोन्मुख थारू कला, संस्कृति, लोकगीत तथा लोकनाचको संरक्षण, संवद्र्धन र नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले थारू संस्कृति संरक्षण संघ नेपालले जितिया पर्वको अवसरमा नयाँ गीतको अडियो तथा भिडियो फोकस सिने आर्ट युटुव च्यानलमा सार्वजनिक गरेको छ ।
नयाँ तथा पुराना पुस्ताका कलाकारलाई समेटेर निर्माण गरिएको गीत थारू पौराणिक पछिमाही भास (लय)मा आधारित रहेको गीतको शब्दरचना श्यामलाल चौधरी ‘न्याक जी’ले गर्नु भएको छ भने संगीत संयोजन किशोर लेखीले गर्नु भएको गीतमा ललिता चौधरी, रमिन चौधरी, अनुराधा चौधरी, श्यामलाल चौधरी र किशोर लेखीको स्वर रहेको छ ।
भिडियोको निर्देशन शिवनारायण चौधरी ‘शिव थारू’ले गरेका छन् । भिडियोमा उमाकान्त चौधरी, धनराज चौधरी, मिहिलाल चौधरी, ताराकान्त चौधरी, नैना चौधरी, नीलिमा चौधरी र बिना कुमारी चौधरी ‘बिनु’ लगायतका कलाकार सहभागी छन् ।
संघले धुमरा नाचका गीतहरू समेत रेकर्डिङ गरिसकेको र आगामी दिनमा भिडियो निर्माण गर्ने तयारी गरेको जनाएको छ । आर्थिक स्रोतको अभाव रहेकाले संघले संस्कृति तथा संगीतप्रेमी, बुद्धिजीवी र दाताहरूसँग सहयोगको आग्रह गरेको छ ।
पछिल्लो समय आधुनिक संस्कृतिको प्रभावसँगै थारू समुदायका पौराणिक लोकगीत, लोकनाच तथा परम्परा ओझेलमा पर्दै गएकाले नयाँ पुस्तालाई मौलिक संस्कृतिसँग जोड्न गीत निर्माण गरिएको संघ संस्थापक अध्यक्ष गयानन्द चौधरी जनाएको छ ।















