एसबी शान
प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारबाट हुने तीनदिने भारत भ्रमण ‘सद्भावना भ्रमण’ का रूपमा हुने भएको छ ।
देउवाको भ्रमणले दुई मुलुकबीच केही वर्षयता थाती रहेका समस्या समाधानका लागि कूटनीतिक संवादको बाटो खोल्ने विश्वास गरिएको छ । देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच पाँच महिनाअघि स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भए पनि दुई मुलुकबीचका समस्यामाथि पर्याप्त छलफल हुन सकेको थिएन । छोटो तयारीमा हुन लागेको देउवाको नयाँदिल्ली भ्रमणले बिथोलिएको विश्वासको वातावरण ‘ट्र्याक’ मा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री देउवाको भ्रमण भारतसँग सम्बन्ध सुधारको आधार प्रदान गर्न सक्ने कूटनीतिज्ञहरू बताउँछन ।
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्री देउवाको यो भ्रमणमा दुवै पक्षबीच थाती रहेका समस्यालाई उच्च तहबाट सम्बोधन गर्नुपर्ने बताउँछन् । समस्याको सम्बोधन उच्च तहबाट भएपछि त्यसलाई ध्यानाकर्षण गर्न र त्यसपछि द्विपक्षीय कूटनीति वार्तामार्फत समाधान गर्न सकिने उनले बताए । ‘यो भ्रमण अवसर हो,’ उनले भने, ‘हामीकहाँ थाती रहेका विषयवस्तु छन । सीमा विवादका बारेमा अहिलेसम्म वार्ता नै हुन सकेन । अब त्यसबारे उच्च तहमा छलफल गरेर त्यसको समाधानतर्फ अघि बढ्नुपर्छ । नेपालको के अपेक्षा छ, प्रस्ट पार्नुपर्छ । भारतले पनि आफ्नो अपेक्षा प्रस्ट पार्नुपर्छ । त्यसपछि परिणाम आउने गरी काम गर्नुपर्छ ।’
भारतका लागि अर्का पूर्वराजदूत नीलाम्बर आचार्य प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई महत्त्वपूर्ण मान्छन । ‘भ्रमणका क्रममा हाम्रो सम्बन्धको स्थिति के छ भनेर अवलोकन होला । भएका राम्रा विषयलाई धन्यवाद ज्ञापन होला ।
थाती रहेका विषय (सीमा विवाद, ईपीजी प्रतिवेदनलगायत) लाई यत्तिकै राख्न हुँदैन, यसबारे कुन शब्दमा कुन तरिकाले भन्न सकिन्छ भन्नुपर्छ,’ उनले भने, ‘यसै पनि दुई देशबीच प्रत्यक्ष भेटवार्ता नभएर ग्याप भइसकेको थियो ।’ आचार्यले भ्रमणलाई कति महत्त्वपूर्ण बनाउने भन्ने त्यहाँको वार्ता र भेटघाटले बताउने प्रस्ट पारे । ‘यो अवसरचाहिँ महत्त्वपूर्ण हो । यसबाट देखिएका अप्ठ्यारा विषय समाधानका लागि सहज वातावरण बन्न सक्छ । यसलाई कुनै चुनाव वा अन्य रूपमा हेर्नु हुँदैन,’ उनले भने ।
दुई देशबीच उत्पन्न मामिलाको कूटनीतिक संवादमार्फत समाधानका निम्ति नेपालले लामो समयदेखि आग्रह गर्दै आएको छ । सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विषयमाथि अध्ययन गरेर सुझाव दिन दुई मुलुकका सरकारबीच सहमति भएर प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन गरिएको थियो । उक्त समूहले दुई वर्ष लगाएर प्रतिवेदन तयार पा¥यो । पहिले भारतका प्रधानमन्त्रीलाई र त्यसपछि नेपालका प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उक्त समूहको निर्णय थियो ।
पाँचौं पटकको प्रधानमन्त्रित्वकालमा देउवाको यो पहिलो औपचारिक विदेश भ्रमण हो । देउवाले भारतीय सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सँग पनि पार्टीगत सम्बन्ध विकास गर्न खोजिरहेका छन् । उनले दिल्ली पुगेकै दिन शुक्रबार साँझ दीनदयाल उपाध्या मार्गस्थित भाजपाको केन्द्रीय कार्यालय भ्रमण तथा नेताहरूसँग अन्तरक्रिया गर्ने भएका छन । त्यहाँ भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डासहितका वरिष्ठ नेताहरूले देउवालाई स्वागत गर्नेछन । देउवालाई कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकामा बधाई पनि दिने भएको छ । कांग्रेस र भाजपाको पार्टी तहमा दुई शीर्ष नेताबीच पहिलो भेट हुन लागेको हो ।
परम्परागत रूपमा नेपाली कांग्रेसको सम्बन्ध कंग्रेस आईसँग रहँदै आएको थियो । भाजपा सत्तामा आएयता कंग्रेस कमजोर छ । गत भदौमा कांग्रेसको निम्तोमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आएका थिए । त्यसपछि भाजपाको निम्तोमा कांग्रेसका अन्तर्राष्ट्रिय विभाग प्रमुख प्रकाशशरण महतको नेतृत्वमा कांग्रेस नेताहरूले दिल्ली भ्रमण गरेका थिए ।
परियोजना हस्तान्तरणको तयारी
भारतको सहयोगमा नेपालमा बनेको विभिन्न परियोजनाहरुलाई प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा शनिबार चार परियोजनाको उद्घाटन र हस्तान्तरणको तयारी गरिएको छ । जनकपुर–जयनगर खण्डमा रेल सेवा र सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन गरिने भएको हो । भारतको सहयोगमा साना परियोजना कार्यक्रमअन्तर्गत निर्माण भएका १ सय ३२ वटा स्वास्थ्य चौकीका भवन हस्तान्तरण गरिनेछ । भारत सरकारले चलनमा ल्याएको ‘रुपे’ डिजिटल कार्ड नेपालमा प्रयोगको शुभारम्भ गर्ने तयारी पनि छ ।
प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा चारवटै परियोजना उद्घाटन र हस्तान्तरण गर्ने तयारी दुवै पक्षबाट भइरहेको स्रोतले जनाएको छ । जनकपुर–जयनगर–बिजलपुरा–बर्दिबास ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माण भइरहेको छ । त्यसमध्ये जनकपुर–जयनगर खण्डको निर्माण दुई वर्षअघि नै सम्पन्न भइसकेको छ । दुवै देशका प्रधानमन्त्रीले शनिबार भर्चुअल रूपमा रेल सेवा उद्घाटन गर्नेछन । सोलुखुम्बुमा उत्पादित जलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न भारतको निर्यात आयात बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा बनाइएको सोलु करिडोर विद्युत् प्रसारण लाइन उद्घाटन दुवै प्रधानमन्त्रीको उपस्थितिमा भर्चुअल रूपमा नै हुनेछ । सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिन्लास्थित सबस्टेसनसम्म ३ सय २ वटा टावरसहित सोलु करिडोर १३२ केभी प्रसारण लाइन निर्माण गरिएको हो । देउवाको भ्रमणका क्रममा साना परियोजना सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोग रहेको स्वास्थ्य चौकी भवन निर्माणसम्बन्धी परियोजनाको प्रगति समीक्षा गर्नुका साथै बनिसकेका भवन हस्तान्तरण गर्न लागिएको छ ।
दुई जना प्रधानमन्त्रीको उपस्थितिमा भारत सरकारले प्रयोगमा ल्याएको ‘रुपे’ कार्डलाई नेपालमा पनि लागू गर्ने कार्यको शुभारम्भ पनि गरिनेछ । भारतको ‘नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)’ मा आबद्ध भएको ‘रुपे’ भारत आफैंले विकास गरेको हो । ‘भिसा’ र ‘मास्टर कार्ड’ जस्तै उक्त कार्ड भारतका बैंकहरूले चलाउन थालेका छन । त्यस कार्डलाई नेपालको बैंकसँग पनि जोड्न लागिएको हो । अब ‘रुपे’ कार्डबाट नेपालमा भुक्तानीको सुविधा पाइनेछ । भारतबाट नेपालले मल खरिद गर्ने सम्झौता भइसकेकाले त्यसको व्यावहारिक र सांकेतिक कार्यान्वयन पनि यही भ्रमणका दौरान हुने सम्भावना छ ।















