रौतहट– रौतहटको देवाही गोनाहीबाट एक व्यक्तिलाई अवैध हतियारसहित पक्राउ गरिएको छ। ईलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले दुर्गा मेलास्थलमा शंकास्पद गतिविधिमा संलग्न देखिएका ५६ वर्षीय भोला राय यादवलाई चेकजाँच गर्दा अमेरिकामा निर्मित एक थान अटोमेटिक ९ एमएम पेस्तोल फेला परेको हो।
प्रहरीले यादवको साथबाट ९ एमएम म्यागजिन, चार गोली र सर्ट गनका दुई गोली पनि बरामद गरेको छ। हाल उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ। यस घटनाले मेलास्थलमा सुरक्षा व्यवस्थाबारे पनि चासो बढाएको छ।















