काठमाडौँ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूमा रेडियोलोजी फिल्मको प्रयोग हटाएर डिजिटल प्रणालीमा रूपान्तरण गर्ने ऐतिहासिक निर्णय गरेका छन्। यस निर्णयले रेडियोलोजी सेवामा समयसँगै प्रविधिको प्रयोग बढाउने मात्र होइन, अस्पतालको खर्चमा ठूलो कटौती गर्न सहयोग गर्नेछ।
रेडियोलोजी फिल्मको सट्टा डिजिटल रिपोर्ट दिन थालिएपछि एक्सरे, एमआरआई, र सीटी स्क्यानजस्ता परीक्षणहरूको लागत पनि घट्नेछ, जसले गर्दा नागरिकले सस्तोमा उच्च गुणस्तरीय सेवा पाउनेछन्। राजधानीको वीर अस्पतालले हरेक वर्ष करिब ४ करोड रुपैयाँ रेडियोलोजी फिल्ममा खर्च गर्दै आएको थियो भने कान्ति बाल अस्पतालले ३ करोड रुपैयाँ खर्च गर्ने गरेको थियो। अब यो डिजिटल प्रणाली लागू भएपछि अस्पतालहरूको वार्षिक बजेटमा उल्लेख्य बचत हुनेछ।
स्वास्थ्यमा पनि यस निर्णयको सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ। एक्सरे फिल्म स्वास्थ्यका लागि हानिकारक मानिने भएकाले डिजिटल रिपोर्टले यस जोखिमलाई समेत कम गर्नेछ। मन्त्री पौडेलको सचिवालयका अनुसार, संघीय अस्पतालहरूमा लागू गरिएको यो प्रणालीलाई क्रमशः निजी र अन्य तहका अस्पतालहरूमा पनि विस्तार गर्ने योजना छ। यसले डिजिटल प्रविधिको व्यापक प्रयोगमार्फत सम्पूर्ण देशभर स्वास्थ्य सेवामा सुधार ल्याउने अपेक्षा गरिएको छ।
यो परिवर्तनले स्वास्थ्य क्षेत्रमा आधुनिक प्रविधि प्रयोगको सुरुआत गर्दै नागरिकलाई गुणस्तरीय र सुलभ सेवा पुर्याउने लक्ष्य लिएको छ।















