काठमाडौं – यातायात व्यवसायीहरूले स्थानीय तहले गैरकानूनी रूपमा सडकमा कर उठाइरहेको गुनासो गरेपछि गृह मन्त्रालयले त्यस्ता गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले कात्तिक दोस्रो साता देशभरका ७७ प्रशासन कार्यालयलाई जानकारी पत्र पठाएर यस्तो निर्देशन दिएको हो।
यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग भेट गरी अवैध कर असुली रोक्न ध्यानाकर्षण गराएको थियो। सरकारको निर्देशनले स्थानीय तहमा गैरकानूनी कर उठाउने कार्य रोक्न सहयोग पुर्याउने विश्वास लिइएको छ।
विसं २०७५ सालमा मन्त्रिपरिषदले राष्ट्रिय र सहायक राजमार्गमा स्थानीय तहले अतिरिक्त कर असुली गर्न नपाउने निर्णय गरेको थियो, जसको कार्यान्वयन अर्थ मन्त्रालयले कार्य योजना मार्फत गरिसकेको छ।















