काठमाडौं ।आज तिहारको चौथो दिन, कात्तिक शुक्ल प्रतिपदामा नेपालभर विशेष रूपमा गाई पूजा मनाइँदै छ। यस दिन गाईलाई पवित्र जनावर मान्दै पूजा गरिन्छ, र मीठा परिकार खुवाएर सम्मान प्रकट गरिन्छ। वैदिक सनातन परम्परामा गाईलाई ‘गौमाता’ भनेर पुकारिन्छ, किनभने यसले दिने दूध आमाको दूधजत्तिकै पौष्टिक हुन्छ भन्ने मान्यता छ। स्थानीय गाईको जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा ग्रहण गरी दूध, गहुँत, र गोबर मार्फत मानव शरीरलाई बलियो बनाउने वैज्ञानिक आधार रहेको भनाइ छ।
धार्मिक परम्पराअनुसार, गाईको पूजा गरी आजको दिनमा उसलाई परिकार खुवाउँदा शुद्धता प्राप्त हुने विश्वास गरिन्छ। केही स्थान र समुदायमा गाई पूजा औँसीकै दिन मनाइने भए पनि शास्त्रीय मान्यताअनुसार प्रतिपदाकै दिन यो पर्व मनाउन उपयुक्त मानिन्छ। यस विषयमा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमका अनुसार गाईको पूजा प्रतिपदाको दिन गर्नाले यसका विशेष फल मिल्छ।
हिन्दू धर्ममा गाईदानको विशेष महत्त्व रहेको छ। कतिपयले गाईको अभावमा पैसा राखेर सङ्कल्प लिने प्रचलनलाई अँगालेका छन्। नेपालमा गाईलाई राष्ट्रिय जनावरको रुपमा सम्मान गर्दै रक्षाबन्धनका धागा गाईको पुच्छरमा बाँध्दा गाईले वैतरणी नदी पार गराई स्वर्गको यात्रा सहज गरिदिने विश्वाससमेत रहेको छ।















