विराटनगर – कोशी प्रदेशमा प्रहरीले अवैध गाँजाको खेती नष्ट गर्न अभियान तीव्र बनाएको छ। धनकुटा र भोजपुरका विभिन्न पहाडी क्षेत्रमा व्यापक मात्रामा गरिएको गाँजाको खेतीमा प्रहरीले हस्तक्षेप गर्दै एकै दिन ३८ हजारभन्दा बढी गाँजाका बोट नष्ट गरेको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार अवैध रूपमा लगाइएका र केही स्थानमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोट नष्ट गर्न प्रहरी परिचालन गरिएको हो। धनकुटाको सहिदभूमि गाउँपालिकामा इलाका प्रहरी कार्यालय छिन्ताङ, भेडेटार, प्रहरी चौकी आँखीसल्ला, र त्रिवेणीबाट खटिएको टोलीले १७ रोपनी क्षेत्रमा रहेका २४ हजार ४ सय गाँजाका बोट फँडानी गरी जलाएर नष्ट गर्यो।
त्यस्तै, भोजपुरको हतुवागढी गाउँपालिकामा इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोलीले १८ रोपनी क्षेत्रफलमा फैलिएका १४ हजार १ सय गाँजाका बोट फँडानी गर्यो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यी अभियानहरू अवैध गाँजा खेती नियन्त्रण र लागुऔषध दुर्व्यसन रोक्न गरिएको हो।















