झापा — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा झापाको पुँजीगत खर्च निराशाजनक देखिएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका अनुसार, पुँजीगततर्फ विनियोजित रु १० अर्ब २८ करोडमध्ये कात्तिक मसान्तसम्म केवल रु ७५ करोड ४८ लाख (७.३४%) मात्र खर्च भएको छ।
चालुतर्फ विनियोजित रु १५ अर्ब ८८ करोडमध्ये २९.२२% अर्थात् रु ४ अर्ब ६४ करोड खर्च भएको छ। समग्रमा कात्तिक मसान्तसम्म जम्मा २०.६३% अर्थात् रु ५ अर्ब ३९ करोड ६५ लाख खर्च भएको कार्यालय प्रमुख सूर्यबहादुर भण्डारीले जानकारी दिए।
बजेट समयमै निकासा भए पनि सङ्घीय कार्यालय र स्थानीय तहहरूले अपेक्षित पुँजीगत खर्च गर्न नसकेको भण्डारीले बताए। राजश्व सङ्कलनतर्फ भने मेची भन्सार कार्यालय काँकरभिट्टाको योगदानसहित झापामा रु ६ अर्ब १ करोड राजश्व उठेको छ।















