प्यूठानको गौमुखी गाउँपालिका–५ मा ६८ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। उनको शव शुक्रबार बिहान ९ बजे खुमबाट नारीकोट जाने कवलपति वनको भित्री बाटोमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले जानकारी दिए।
उपाध्यायको अनुहारमा गहिरो चोट देखिएकोले उनलाई घरेलु हतियार प्रहार गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। सामान्य किसान रहेका उपाध्यायको हत्या कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
घटनासँग सम्बन्धित आशंकामा तीन-चार जनालाई नियन्त्रणमा लिइएको छ। “हामी हत्यामा संलग्न व्यक्तिको नजिक पुगेका छौं, आरोपी उम्कन सक्ने अवस्था छैन,” डिएसपी बस्यालले बताए।
घटनास्थल जिल्ला प्रहरी कार्यालय खलंगाबाट ४६ किलोमिटर टाढा रहेकोले अनुसन्धानमा केही चुनौती भए पनि प्रहरीले छिट्टै अपराधी पत्ता लाग्ने विश्वास व्यक्त गरेको छ।















