महेश सिंह लहान –सिरहाको लहान–३ स्थित परागन पब्लिक स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि भव्य ‘Welcome Program’ सम्पन्न गरेको छ। ‘खुसी मन लिएर भित्र पस्नुहोस्, अतिथि भएर आउने सबै मित्र बनेर निस्कुन्’ भन्ने सन्देशसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीले गीत, नृत्य र सांस्कृतिक प्रस्तुतीमार्फत उत्साहपूर्ण माहोल सिर्जना गरेका थिए। अभिभावक, शिक्षक तथा विद्यार्थीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालय परिवारले नयाँ सत्रका विद्यार्थीलाई सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गर्यो।
समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल उमेश चौधरीले परागन पब्लिक स्कुल लहानमा गुणस्तरीय र भरोसायोग्य शिक्षा प्रदान गर्ने अग्रणी शैक्षिक संस्थाको रूपमा स्थापित भइसकेको बताए।
उनका अनुसार विद्यालयले विद्यार्थीको भविष्य निर्माणलाई लक्षित गर्दै अनुशासन, सिकाइमैत्री विधि र आधुनिक शिक्षण पद्धतिलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीको आत्मविश्वास वृद्धि, मैत्रीपूर्ण वातावरण निर्माण तथा विद्यालयप्रति आत्मीयता मजबुत हुने अपेक्षा व्यक्त गरेको छ।















