महेश सिंह लहान सिरहा – सिरहाको लहान नगरपालिका–३ रघुनाथपुरस्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयले पहिलो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
विद्यालयले २०८३ साउन १ गते सञ्चालन गरेको पहिलो त्रैमासिक परीक्षाको नतिजा बुधबार व्यवस्थापन समिति, शिक्षक–कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा सार्वजनिक गरेको हो।
नतिजा सार्वजनिक कार्यक्रममा विद्यार्थीहरूले हासिल गरेको शैक्षिक उपलब्धिबारे जानकारी गराउँदै आगामी दिनमा अझ मेहनत र लगनशीलताका साथ अध्ययन गर्न आग्रह गरिएको थियो। परीक्षामा उत्कृष्ट तथा सन्तोषजनक नतिजा ल्याउने विद्यार्थीलाई बधाई दिँदै विद्यालयले उनीहरूको शैक्षिक प्रगतिका लागि निरन्तर प्रोत्साहन आवश्यक रहेको जनाएको छ।
विद्यार्थीहरूले राम्रो नतिजा हासिल गरेपछि अभिभावकहरूले खुसी व्यक्त गरेका छन्। अभिभावकहरूले विद्यालयले अध्ययन–अध्यापनको गुणस्तर सुधारमा गरिरहेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यार्थीको शैक्षिक तथा सर्वाङ्गीण विकासमा थप ध्यान दिन आग्रह गरेका छन्।
विद्यालयका लेखा श्यामसुन्दर महतोले नतिजा प्रकाशन कार्यक्रमबारे जानकारी दिँदै विद्यार्थीको मेहनत, शिक्षकहरूको लगनशीलता र अभिभावकको सहयोगले शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुगेको बताए। उनले आगामी दिनमा विद्यार्थीको सिकाइ उपलब्धि थप सुधार गर्न विद्यालय परिवार प्रतिबद्ध रहेको जानकारी दिए।
विद्यालय परिवारले परीक्षामा उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।















