लहान १० कार्तिक ।सिरहाको धनगढीमाई नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट १६ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ परे पनि जिल्ला प्रहरी कार्यालय सिरहाले एक जनाको मात्रै विवरण सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार धनगढीमाई नगरपालिका–१३ डगमरा टोलबाट विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका ४१ वर्षीय शिवशंकर साहलाई मोटरसाइकलमा गाँजा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो। मधेश प्रदेश ०३–०३२ प ७५२ नम्बरको रातो टिभिएस मोटरसाइकलमा गाँजा ल्याउँदै गर्दा पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय लहान पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, धनगढीमाई नगरपालिका–१४ बिहिवारे टोलका ५६ वर्षीय झनकबहादुर ठकुरीको घरमा खानतलासी गर्दा ३ किलो ५२० ग्राम र घरनजिकैको घारीबाट १२ किलो ७५० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाको विज्ञप्तिमा उल्लेख छ।
तर, प्रहरीले जारी गरेको विज्ञप्तिमा एक जनाको मात्रै विवरण सार्वजनिक गरिएको छ। साथै, विज्ञप्तिमा नाम र फोटोसमेत फरक देखिएको छ।
नेत्र दैनिकका संवाददाताले प्राप्त गरेको विवरण र जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको विज्ञप्तिमा फरक देखिएपछि यस विषयमा सूचना अधिकारी रमेशबहादुर पालसँग सम्पर्क गरिएको थियो। पालले यस विषयमा ध्यानाकर्षण भएको बताउँदै पुनः विज्ञप्ति जारी गर्ने जानकारी दिए।
उनले इलाका प्रहरी कार्यालय लहानबाट प्राप्त विवरणका आधारमा विज्ञप्ति जारी गरिएको र धनगढीबाट पठाइएको विवरणअनुसारको विज्ञप्ति जारी नभएको स्वीकार गरे। पालका अनुसार दुवै जना प्रहरी नियन्त्रणमा छन्।















