काठमाडौँ।उद्योगहरूको विद्युत् कटौतीसम्बन्धी विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जामन्त्री दीपक खड्कालाई निर्णय लिने अधिकार सुम्पिएका छन्। मंगलवार बसेको मन्त्रिपरिषद् बैठकमा ऊर्जा क्षेत्रको अद्यावधिक जानकारी दिंदै ऊर्जामन्त्री खड्काले केही उद्योगहरूको विद्युत् काटिएको अवस्थाबारे ब्रिफिङ गरेका थिए।
बैठकपछि प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा भने, “विद्युत् कटौतीको विषय ऊर्जा मन्त्रालयकै क्षेत्राधिकारमा पर्छ, र यसको निर्णय मन्त्रिपरिषद्ले गर्नुपर्ने होइन। त्यसैले, यो विषयमा ऊर्जा मन्त्रालयले नै उपयुक्त निर्णय गर्नुपर्छ।”
नेपाल विद्युत् प्राधिकरणले पाँच दिनअघि विभिन्न उद्योगहरूले लामो समयदेखि बिजुलीको बक्यौता नतिरेको कारण देखाउँदै ३४ उद्योगको विद्युत् लाइन काटेको थियो। यस विषयमा कुलमान घिसिङलाई हटाउने वा नहटाउने विषयमा कुनै छलफल नभएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले जानकारी दिए।















