लहान।मधेशका मिथिला, सिरहा लगायत विभिन्न जिल्लामा परम्परागत छठ पर्व श्रद्धा र भव्यताका साथ सुरु भएको छ। मंगलबारको दिन “नहाय–खाय” विधिबाट छठ पूजाको आरम्भ भएको छ, जसअन्तर्गत व्रतालुहरूले स्नान गरेर शुद्ध भोजन ग्रहण गर्छन्। यस विधिले व्रतालुहरूलाई छठ पर्वको पवित्रता र भक्तिमा जोड्छ।
दोस्रो दिन बुधबार “खर्ना” विधि मनाइन्छ, जहाँ व्रतालुहरू दिनभर उपवास बसेर साँझ कुलदेवतासँगै छठ माईको आराधना गर्छन्। खर्ना सम्पन्न भएपछि व्रतालुहरूले बिना नुनको विशेष भोजन ग्रहण गर्ने परम्परा छ, जसले पर्वको आस्था र समर्पणलाई अझ गहिरो बनाउँछ।
पर्वको तेस्रो दिन, षष्ठीका दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिनको विशेष तयारी गरिन्छ। यस अवसरमा व्रतालुहरूले गहुँ, चामल, अदुवा तथा ढिकीमा पिसिएको पिठोबाट ठकुवा, भुसुवा, खजुरीया लगायतका परिकार तयार पार्छन्। साथै विभिन्न फलफूल र अन्य प्रसाद समेटेर परिवारजनसँगै पोखरी वा नदी किनारको छठ घाटमा पुग्छन्। भक्तिपूर्ण वातावरणमा लोकगीत गाएर उनीहरूले छठ माईको पूजा गर्छन्।
षष्ठीको साँझ व्रतालुहरूले जलाशयमा पसेर अस्ताउँदो सूर्यलाई पिठार, सिन्दूर, अक्षता र फूल चढाउँदै अर्घ्य अर्पण गर्दछन्। यसरी उनीहरूले सूर्य देवको आराधना गरी सुस्वास्थ्य र सुख–समृद्धिको कामना गर्छन्।
अन्तिम दिन अर्थात् सप्तमीमा, उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिँदै छठ पर्वको समापन गरिन्छ। परिवार र समाजको कल्याण, शान्ति, रोगमुक्ति तथा समृद्धिका लागि यो पर्व विशेष श्रद्धा र आस्थाका साथ मनाइन्छ। पोखरी, तलाउ, नदी किनारमा अर्घ्य दिन जम्मा भएका श्रद्धालुहरूको भीडले यस पर्वको सांस्कृतिक महत्वलाई झल्काउँछ।















