काठमाडौँ ।बंगलादेशले भारतबाट आयात गरेको बिजुलीको करिब १ अर्ब अमेरिकी डलर (१ खर्ब ३५ अर्ब रुपैयाँ) बक्यौता तिर्न बाँकी छ। अमेरिकी डलर अभावका कारण भारतीय कम्पनीहरूलाई भुक्तानी गर्न नसकेको रोयटर्सले जनाएको छ।
अडानी पावरले झारखन्डको गोड्डा प्लान्टबाट निर्यात गर्दै आएको १६०० मेगावाट बिजुली भुक्तानी नपाएपछि ५२० मेगावाटमा झारेको छ। अन्य भारतीय कम्पनीहरूलाई पनि बंगलादेशले २७ करोड डलर तिर्न बाँकी छ।
नेपालले पनि ४० मेगावाट बिजुली बंगलादेश पठाउन थालेको छ, तर त्यहाँको आर्थिक संकटले भुक्तानी नपाउने जोखिम देखिएको छ। रुस–युक्रेन युद्ध र राजनीतिक उथलपुथलले बंगलादेशको आर्थिक अवस्था झन् बिग्रिएको छ। बंगलादेशले अन्तर्राष्ट्रिय सहयोगका लागि आईएमएफलगायतलाई ५ अर्ब डलर सहयोग मागेको छ।















