काठमाडौँ, ७ मङ्सिर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज काठमाडौँमा आयोजना गरेको जागरण सभाको र्याली भव्य र उत्साहजनक रूपमा सम्पन्न भएको छ।
र्याली भद्रकालीबाट सुरु भई शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा सभामा परिणत भएको थियो। सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सम्बोधन गर्नुभएको थियो। उहाँ दिउँसो १ः३० बजे सभास्थलमा उपस्थित हुनुभएको थियो।
कार्यक्रमको नेतृत्व नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले गर्नुभएको थियो। संयोजकको जिम्मेवारी एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईको भए पनि उहाँ विदेशमा रहेकाले नेतृत्व ढुङ्गेलले सम्हाल्नुभएको हो।
र्यालीमा बाजागाजा, झाँकी, तथा सांस्कृतिक प्रस्तुतीसहित नेता, कार्यकर्ता र स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो। एमालेले एक लाखभन्दा बढीको उपस्थिति गराउने लक्ष्य राखेको यस सभामा जनसागर उर्लिएको देखियो।
सभामा अध्यक्ष ओलीले देशको समृद्धि, राजनीतिक स्थिरता, र जनसरोकारका मुद्दामा पार्टीको अडानलाई स्पष्ट पार्दै आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्य शीर्ष नेताहरूले पनि सम्बोधन गर्दै जागरण अभियानलाई सफल बनाउन आह्वान गर्नुभयो।
सांस्कृतिक कार्यक्रम र स्थानीयस्तरका सहभागीहरूले यो सभा जनस्तरमा विशेष रूपमा आकर्षक र सफल बनेको पुष्टि गरे। एमालेले यस अभियानमार्फत आफ्नो संगठनात्मक बलियो उपस्थिति प्रदर्शन गरेको छ।















