अछाम – अछामको तुर्माखाद गाउँपालिका–३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज तथा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्द आफैले बोकेको पेस्तोलले आफूमाथि गोली प्रहार गरी घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीका अनुसार, चन्दले बिहीबार राति करिब साढे ९ बजेको समयमा प्रहरी चौकीमै बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेका हुन्। घटनापछि उनलाई तत्काल कोहलपुर मेडिकल कलेजमा उपचारका लागि पठाइएको छ।
घटनाको कारण अहिलेसम्म स्पष्ट भएको छैन। डीएसपी भण्डारीका अनुसार, घटनाबारे छानबिन गर्न इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिले अनुसन्धानपछि मात्र घटनाको यथार्थ खुल्ने अपेक्षा गरिएको छ।
हाल घाइते असई चन्दको अवस्था र घटनाको पृष्ठभूमिमा प्रहरीले गम्भीर छानबिन अघि बढाएको जानकारी दिइएको छ।















