महोत्तरी २५ असार । महोत्तरीको जलेश्वरस्थित पूर्वाधार विकास कार्यालय परिसरमा समाचार संकलनका क्रममा एचटिभी खबरका पत्रकार दिवाकर साहमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ।
२०७८ साल असार २३ गते राति अनुगमनका क्रममा कार्यालयमा पुगेका पत्रकार साहमाथि केही व्यक्तिहरूले दुर्व्यवहार गरेको स्पष्ट देखिने भिडियो सार्वजनिक भएपछि घटनाले चासो बढाएको हो। महासंघले यस घटनालाई प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी संवैधानिक मूल्य–मान्यता विरुद्धको कार्य भन्दै घोर भर्त्सना गरेको छ।
समाचार संकलनमा खटिएका पत्रकारलाई यसरी अवरोध गर्नु र धम्क्याउनु प्रेस स्वतन्त्रतामाथिको खुला हस्तक्षेप भएको भन्दै महासंघले दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग राखेको छ।
महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गर्दै घटनाका दोषीहरूलाई छानबिन गरी कडा कारबाही गर्न माग गरेको छ।















