प्रदिप सिंह लहान १७ साउन ।सिरहा जिल्लाको औरही गाउँपालिका–४ कमलपुरस्थित एक आँपको बगैचाबाट प्रहरीले ठूलो परिमाणमा लुकाइ राखिएको गाँजा बरामद गर्दै नौ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आज बिहान ४ बजे विशेष सूचनाको आधारमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पाँच जना भरिया, एक जना रेक्की गर्ने, एक जना गाँजा साहु र दुई जना भारतीय खरिदकर्ता रहेका छन्।
पक्राउ परेकामध्ये भरियाहरू गोलबजार नगरपालिका–१ मक्सारका जयराम जोशी (४२), शिवकुमार सदा (३०), कृष्ण सदा (२२), सुरज सदा (१८) र पशुपति सदा (१७) रहेका छन्। रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का राजेन्द्र यादव (४२) र साहुका रूपमा मक्सारकै जीवछ साह (३२) रहेका छन्।
यसैगरी, खरिदका लागि नेपाल आएका मधुवनी (भारत) का धर्मेशकुमार कामति (३०) र वैधनाथ चौधरी (३९) पक्राउ परेका छन्। चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार समेत बरामद भएको छ।
प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार पाँच बोरा गाँजा आँपको बगैचामा लुकाइ राखिएको अवस्थामा भेटिएको हो। प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया पक्राउ परेपछि उनीहरूको बयानका आधारमा बाँकी समूह समातिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध लागूऔषध मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।















