महेश सिंह सिरहा – लहान नगरपालिका–१२ मुसहर युवा संजालद्वारा समुदायमै लक्षित जनचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। समुदायमा सामाजिक जागरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको कार्यक्रम स्थानीय युवा, अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रममा विशेषगरी शिक्षा, स्वास्थ्य, सरसफाइ, बालविवाह न्यूनिकरण, सामाजिक समानता, तथा समुदायमा आवश्यक व्यवहारिक परिवर्तनका विषयहरूमा प्रभावकारी सन्देशहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई व्यवहारिक सीप, घर–परिवार तथा समाजमा देखिने समस्याहरूको पहिचान र ती समस्याका समाधान उपायबारे प्रशिक्षणसमेत प्रदान गरिएको थियो।
मुसहर समुदायमा सशक्तिकरण, आत्मविश्वास र सहभागितामूलक विकास प्रवर्द्धन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पर्ने आयोजकहरूले अपेक्षा व्यक्त गरेका छन्।
समाप्त कार्यक्रममा सहभागी सबैप्रति आयोजक मुसहर युवा संजालले आभार प्रकट गरेको छ।















