काठमाडौं ।बालेन्द्र शाह नेतृत्वको सरकारले सुरु गरेको ‘गभर्मेन्ट कुरियर सर्भिस’ योजना कार्यान्वयनतर्फ अघि बढ्दै जाँदा घरमै सरकारी कागजपत्र पुर्याउने प्रक्रिया सुरु भएको छ। पहिलो चरणमा सिराहा जिल्ला अग्रस्थानमा देखिएको छ।
सरकारको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवामार्फत पासपोर्ट, लाइसेन्सलगायतका कागजात घरमै पुर्याउने लक्ष्य राखिएको थियो। सोही अनुसार सिराहामा चैत २३ गतेदेखि पासपोर्टका लागि आवेदन दिँदा ‘घरमै लिने’ विकल्प लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिराहा का अनुसार राहदानी विभागबाट पासपोर्ट आएको तीन दिनभित्र हुलाकमार्फत सेवाग्राहीको घरमै निःशुल्क पुर्याइने व्यवस्था गरिएको छ। हाल पासपोर्ट छापिएर आउन भने १५–२० दिन लाग्ने गरिएको छ।
हुलाक सेवा विभागले करिब १० हजार जनशक्तिसहित सेवा विस्तारको तयारी गरेको जनाएको छ। सिराहापछि म्याग्दी, मकवानपुर र चितवनमा पनि यो सेवा विस्तार गर्ने योजना रहेको छ।
सरकारको दाबी अनुसार आगामी २०८३ वैशाखसम्म देशभरका ७७ जिल्लामा राहदानी, सवारी चालक अनुमतिपत्र तथा अन्य कागजात घरमै पुर्याउने व्यवस्था लागू गरिनेछ।















