लहान १२ असोज।पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित स्थानीयवासी तथा हिन्दू सम्राट सेनाको सहभागितामा आन्दोलन सुरु भएको छ । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, निर्दोषलाई फसाउन नहुने र वास्तविक दोषीमाथि मात्रै कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
सिरहाको गोलबजार–चोहर्वामा भएको हिन्दू–मुस्लिम विवादसँग सम्बन्धित घटनामा पक्राउ परेकाहरूको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको हो ।
साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपका क्रममा तोडफोड र आगजनीसमेत भएको थियो । सो क्रममा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
घटनामा चौहर्वा जामे मस्जिदसहित विभिन्न संरचनामा तोडफोड तथा आगजनी भएको थियो । प्रहरीको प्रारम्भिक मूल्यांकनअनुसार १८ वटा पसल तथा व्यावसायिक संरचना, १५ वटा निजी घर, २८ वटा सवारीसाधन तथा धार्मिक–शैक्षिक संरचनासहित ६४ वटा सम्पत्तिमा क्षति पुगेको थियो । कुल क्षति ७४ करोड १३ लाख ९० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको थियो ।
घटनापछि फोटो तथा भिडियोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पछिल्लो समय घटनामा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उनीहरूको रिहाइको माग गर्दै आन्दोलन सुरु भएको हो ।
एक स्थानीय स्रोतले घटनामा संलग्न ४६ जनामाथि कारबाहीका लागि सूची तयार भएको दाबी गरे पनि उक्त संख्या र पक्राउसम्बन्धी विवरण आधिकारिक रूपमा स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
यस घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले समेत छुट्टै छानबिन समिति गठन गरेको थियो । गोलबजारमा पुनः आन्दोलन सुरु भएपछि स्थानीय क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।














