सर्लाही । सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिना एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत तिमिल्सिनालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो।
आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।















